|
|
Pages |
परिचय  रामेछाप जिल्ला तामाङ जातिको बाहुल्य जनसंख्या भएको जिल्लाहरु मध्येको एक परिचित जिल्ला हो । यस जिल्लाका अधिकांश भु-भाग तामाङ जातिहरुको बाक्लो बसोबासले भरिएको छ । यो जिल्ला भौगोलिक सौन्दर्यले भरिपूर्ण भएको करिब राजधानीबाट १०० किलोमिटर पुर्वमा विपि राजमार्गले यसको सिमानालाई छोएको छ । तर सिमानालाई छोए पनि सदरमुकाम मन्थलीलाई भने एक मात्र अरनिको राजमार्गले जोडिएको छ । अब निकट भविष्यमे सदरमुकामलाई विभिन्न विकास परियोजना अनुसार ग्रामिण सडकहरुले जोड्नको लागि धेरै ग्रामिण क्षेत्रहरुमा सडक बिस्तार कार्यहरु भैरहेका छन् । साथमा शैक्षिक स्तर बढाउनको लागि उच्च माध्यमिक र क्याम्पसहरुको स्थापना पनि भैरहेको छ । रामेछाप भौगोलिक रुपले धेरै जिल्लासँग जोडिएको छ । सिन्धुली, ओखलढुङ्गा, दोलखा र काभ्रेसँग यो जिल्ला जोडिएको छ । रामेछापलाई २ क्षेत्रमा विभाजन गरिएको छ जसमा क्षेत्र नं. १ मा २९ वटा गा.वि.स. र क्षेत्र नं. २ मा २६ वटा गा.वि.स. हरु पर्दछन् ।
रामेछाप जिल्लामा अनेक जनजातिहरु बसोबास गरे पनि जिल्लाको जम्मा जनसंख्यामा तामाङहरुको जनसंख्या कुल ४३,६६९ छन् । जुन प्रतिशतमा २१% (अमृत योन्जनको तामाङ पहिचानका सन्दर्भहरुमा आधारित) रहेका छन् । त्यसमा पनि अझ रामेछाप क्षेत्र नं. २ मा धेरै तामाङहरु बसोबास गर्दछन् । उदाहरणको लागि हिलेदेवी, बेथान, दोरम्बा, खनियापानी, फुलासी, गागलपिङखुरी, मझुवा, दिमीपोखरी, लखनपुर आदि एवं अन्य गा.वि.स. हरुमा पनि बाहुल्य तामाङ बसोबास रहेको छ । यहाँका बाहुल्य तामाङहरुको मुख्य पेशा खेति किसानका अलाबा पनि विभिन्न उन्नत मुलक व्यवसायहरु अँगाल्दै अ-आफ्नो आत्मनिर्भरमा अग्रसर देखिन्छन् । शैक्षिक रुपले यहाँको तामाङहरु सकरात्मक देखिए पनि सबैका लागि शिक्षा कार्यक्रमलाई अझ कार्यन्वयन गर्न सके सबैले शिक्षाबाट बञ्चित नहुने देखिन्छ । यो कार्यक्रमलाई कार्यन्वयनको लागि पनि यहाँका तामाङहरु अग्रसर देखिन्छन् । भौगोलिक बनावटले पनि वास्तवमै रामेछाप जिल्ला सौन्दर्यमय छ । पर्यटकीय स्थलहरुको सम्भावना बोकेको अनेकौं सुन्दर स्थलहरु यहाँ छन् । तर खोज अनुसन्धान सडक यातायात, विद्युत एवं अन्य विभिन्न समस्याले गर्दा यस्ता सुन्दर ठाउँहरु अहिलेसम्म त्यत्तिकै सिमित देखिन्छ । त्यसका लागि तामाङ समुदायहरु अग्रसर हुनुपर्ने देखिन्छ । त्यस्ता प्राकृतिक सुन्दर सम्पदाहरुको विकाश गर्यो भने रामेछाप सौन्दर्यले भरिएको पर्यटकीय स्थलको जिल्ला भनेर चिनाउन सकिन्छ । त्यसका लागि धेरै सम्भावना बोकेको जिल्ला देखिन्छ । यस्ता सम्भावनाहरुलाई विकास गर्नको लागि सबै रामेछापबासीको एउटै आवाज हुन जरुरी छ । त्यसका लागि पनि रामेछापका विभिन्न विकासमुलक संघ संस्थाहरु र समुदायहरु लागि पर्नुपर्ने देखिन्छ । झन तामाङ समुदायहरु अरु अग्रसर हुनुपर्ने हुन्छ । त्यही विविध विकासको कार्यहरु थालनी गर्न सकिन्छ की भन्ने सोँच र उदेश्य लिएर सहकार्यको आवश्यक महशुस गरेकाले काठमाडौं उपत्यकामा आउनु भई विभिन्न पेशा, व्यवसायमा संलग्न तामाङहरुलाई समेट्न कोशिस गर्नको लागि "रामेछाप तामाङ समाज काठमाडौं २०६४" को स्थापना भएको हो । यसको स्थापना मात्रै ठुलो कुरा होइन । यसका क्षेत्रलाई फैलाउन, सबैलाई समेट्न र लिएका उदेशय प्राप्त गर्न विभिन्न विकासमुलक कार्ययोजना निर्माण गरेर कार्यन्वयन गर्दै जानु चाहिँ यसको मुल लक्ष्य हो ।
रामेछाप जिल्ला र रामेछापबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्ने तामाङहरुको हक, हित, भाषा, धर्म, लिपि, संस्कृतिको संरक्षण सम्वर्द्धन तथा आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक, मानवअधिकारको विकास लगायत समाजको सर्वाङ्गिण विकासको लागि अन्य जनजातिहरु वा अन्य संघ संस्थाहरु बिच समन्वय एवं सुम्धुर सम्बन्धको विकास गरि रामेछापका तामाङहरुको समाजलाई संगठित रुपमा माथि उठाउन काठमाडौं आई बसेका विभिन्न पेशा, व्यवसायमा आवद्ध रहेका रामेछापको तामाङहरुको एक भेलाले "रामेछाप तामाङ समाज काठमाडौं २०६४" नामको संस्था स्थापना गर्ने निर्णय गरियो । यो संस्थाले संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि विधान तर्जुमा गरिएको छ । संस्थाको कार्यक्षेत्र काठमाडौं जिल्ला र आवश्यकता अनुसार सम्बन्धित जिल्लाको स्थानिय अधिकारीको स्वीकृती लिई नेपाल अधिराज्य भित्र कार्य क्षेत्र विस्तार गर्न सकिने छ । यो संस्था एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर-नाफामुलक, गैर-राजनैतिक तथा गैर-सरकारी सामाजिक संस्था हुनेछ ।
संस्थाको उदेश्यहरु
- यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
- सम्पूर्ण रामेछापका तामाङहरु र रामेछापबाट काठमाडौं आई बसोबास गरिरहेका तामाङहरुलाई एक अर्कामा परस्पर सहयोगको भावना अभिवृद्धि एवं संगठित गर्ने कार्यक्रमहरु गराउने ।
- रामेछापका तामाङहरुको र काठमाडौं बसोबास गर्ने रामेछापेली तामाङहरुको संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्ने ।
- रामेछापेली तामाङहरुको शैक्षिक, बौद्धिक, स्वास्थ्य, सुरक्षा, खेलकुद, आर्थिक, साँस्कृतिक तथा सामाजिक विकासको लागि आवश्यक कार्यहरु गर्ने ।
- राष्ट्र विकासमा रामेछापेली तामाङहरुको सहभागिता प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु गर्ने ।
- तामाङ समुदायको सीप, ज्ञान र व्यक्तित्व जस्ता आत्मासम्मान बढाउने कार्यक्रमहरु गर्ने ।
- रामेछापेली तामाङको साँस्कृतिक चाडपर्वहरुलाई विर्सन नदिई साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वर्द्धन गर्दै समय अनुसार वैज्ञानिक रुपमा विकास गर्ने गराउने ।
- तामाङ भाषा, साहित्य, लिपि, कला, धर्म इतिहास आदि विषयहरुमा अध्ययन अनुसन्धान एवं पत्र पत्रिका, पुस्तक प्रकासनार्थ गर्नुका साथै सार्वजनिक सभा प्रवचन, गोष्ठी, सेमिनार लगायत सिर्जनशिल कार्यक्रमहरु संचालन एवं आयोजना गर्ने ।
- काठमाडौंमा रहेका रामेछापेली तामाङहरुका विभिन्न समस्याहरु परेमा यस समाजले सक्दो सहयोग गर्ने ।
- रामेछापेली तामाङ समुदायमा रहेका अन्धा, अपाङ्ग, बालबालिका, विद्यार्थी, महिला लगायतलाई सेवा पुर्याउनका लागि विभिन्न सीप मुलक, आयमुलक र व्यक्तित्व विकास गर्ने कार्यक्रम संचालन गर्ने ।
- रामेछापेली तामाङहरुको हक, अधिकार एवं मानव अधिकारको प्राप्तीको लागि काम गर्ने ।
संस्थाका संस्थापक पदाधिकारीहरु: अध्यक्ष : महेश मोक्तान उपाध्यक्ष : कमल योन्जन उपाध्यक्ष : शशीकला मोक्तान महा-सचिव : सुनीता लामा (योन्जन) सचिव : अन्जु लामा (दोङ) कोषाध्यक्ष : मोहन मोक्तान संवाद सचिव : रोज मोक्तान संगठन सचिव : धावा योन्जन साँस्कृतिक सचिव सुनीता लामा सदस्य: शरद कुमार तामाङ सदस्य : हस्त बहादुर मोक्तान सदस्य : ठुलो कान्छा तामाङ सदस्य : नेत्र घिसिङ
|
|
|