काठमाडौं, फाल्गुन २६ - पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य झन् बिग्रिएपछि कांग्रेस केन्द्रीय समितिको जारी बैठक बुधबार स्थगित गरिएको छ ।
फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त कांग्रेस सभापति कोइरालालाई केही दिनयता निरन्तर अतिरिक्त अक्सिजन दिनुपर्ने भएको छ । क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज ९सीओपीडी० को जटिलताले गर्दा उनले हाल अक्सिजन छाड्नै नमिल्ने भएको हो ।
निकै कमजोरी अनुभव गरिरहेका ८६ वर्षीय कोइरालालाई दिल्ली वा अन्त कतै उपचारार्थ लैजानेबारे परामर्श भइरहेको पारिवारिक स्रोतले जनायो ।
'पुरानै सीओपीडीको समस्याले गर्दा कहिले च्याप्ने र कहिले स्थिर हुने गरेकामा पुनः स्थिति जटिल देखिएको छ,' एक चिकित्सकले भने । कोइराला गत मंसिरमा सिंगापुरको ग्लेनेगल्स अस्पतालमा उपचार गराएर फर्किएका थिए ।












