
सो अवसरमा श्रद्धेय लोसाङ नाम्गेल रिर्म्पोछेज्यूले गुम्बाको आजिवन प्रमुख एवं संरक्षकमा पदस्थापन गरिएकोमा खुसी व्यक्त गर्नुहुँदै शैक्षिक एवं धार्मिक रुपमा तामाङ समुदायलाई अगाडि बढाउन सबै एकजुट भई लाग्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले आफूले प्राप्त गरेको धार्मिक ज्ञान आफ्नै समुदायमाझ फैलाउने लक्ष्य रहेकोले आगामी दिनमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने आशा समेत व्यक्त गर्नुभयो । त्यस्तै प्रमुख अतिथि सेचेन ह्राब्जेम रिर्म्पोछेज्यूले तामाङ समुदाय पहिलेदेखि नै बौद्धधर्मसँग निकट रहेको उल्लेख गर्नुहुँदै रिर्म्पोछे जस्तो गुरुलाई पाएकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।
समारोहमा प्रमुख अतिथि सेचेन ह्राब्जेम रिर्म्पोछेज्यूले तामाङ गुम्बाको आजिवन प्रमुख लामा एवं संरक्षकमा पदस्थापन (ठितेन) गरिएको व्यहोरा लेखिएको ताम्रापत्र लोसाङ नाम्गेल रिर्म्पोछेज्यूलाई हस्तान्तरण गर्नुभएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति नवराज लामाले गुम्बाको विस्तृत विवरण सहितको फाइल रिम्पोर्छे समक्ष हस्तान्तरण गर्नुभएको थियो ।
सोही समारोहमा आयोजक गुम्बाको तर्फबाट प्रमुख अतिथि सेचेन ह्राब्जेम रिर्म्पोछेज्यूलाई समेत ताम्रापत्रद्धारा सम्मानित गरिएको थियो । त्यस्तै गरी श्रद्धेय लोसाङ नाम्गेल रिर्म्पोछेज्यूको आमा मनमाया लामा, पूर्व जन्मकी आमा मिश्रीमाया श्रेष्ठ, सहयोगी मास्टर घले लगायतलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो भने गुम्बालाई आर्थिक एवं भौतिक रुपमा सहयोग गर्ने सिएस दोङ, सुईसाङ लामा, कर्मसिद्धि लामा, लक्षु लामा, स्व. साईँला लामा, देव कुमार लामा, कृष्ण बहादुर लामा लगायत अन्य व्यक्तित्वहरुलाई समेत ताम्रापत्रद्धारा सम्मानित गरिएको थियो ।
लामा गुरुहरु, समाजसेवी, बुद्धिजिवि, राजनीतिज्ञ, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति कार्यक्रममा गुरु सेचेन ह्राब्जेम रिर्म्पोछे र तामाङ अवतारी श्रद्धेय लोसाङ नाम्गेल रिर्म्पोछेज्यूबाट वाङ तथा अभिषेक प्रदान गर्नुभएको थियो ।












