काठमाडौ, फाल्गुन २४ - हिन्दू राज्य पुर्नस्थापनाका लागि भन्दै पशुपति क्षेत्रमा आयोजित सहश्र, रुद्रचण्डी अखण्ड महायज्ञमा सहभागी हुन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार त्यसमा आफ्नो समर्थन जनाएका छन् ।
महायज्ञमा भाग लिन उनी पूर्वरानी कोमलका साथ त्यहाँ पुगेका थिए । उक्त अवसरमा उनले पूजा गर्दै प्रसादसमेत ग्रहण गरेका थिए । उक्त अवसरमा उनले संक्षिप्त प्रतिक्रिया दिंदै 'जनताले चाहेमा आफ्नो समर्थन रहेको' अभिब्यक्ति दिएका हुन् ।
मुलुकमा शान्ति स्थापना र हिन्दू राज्यको पुर्नस्थापनाका लागि भन्दै अघिल्लो आइतवारबाट कालिदास बाबाले महायज्ञ सुरु गरेका हुन् । उनले हिन्दु राज्य घोषणा गराउन आफु प्राणको आहुती दिन तयार रहेको बताउँदै आएका छन् ।
यसअघि महायज्ञस्थाल पुगेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि आफ्नो समर्थन रहेको अभिव्यक्ति दिएका थिए । उनले आफूले ०४७ सालको संविधानमा हिन्दू अधिराज्य राखेको उल्लेखसमेत गरेका थिए ।
२०६३ साल जेठमा राजाको प्रत्यक्ष शासनको अन्त्य पछि पुर्नस्थापित प्रतिनिधिसभाले धर्म निरपेक्ष राज्यको घोषणा गरेको थियो । धार्मिक अल्पसंख्यक तथा अन्य समुदायहरुले लामोसमयदेखि धर्म निरपेक्षताको माग गर्दै आएका छन् ।












