काठमाडौ, फाल्गुन २२ - एक पटक पाएको पद सधैंका लागि रहँदैन, राजनीतिक होस् कि प्रशासनिक । कतिपय यस्ता भाग्यमानी भूपू छन्, जो सधैं सरकारी सुविधा पाइरहन्छन् । पूर्वप्रधानमन्त्री र गृहमन्त्री ती भाग्यमानीमध्येका हुन् ।
सरकारले उनीहरूका लागि सुरक्षाको प्रबन्ध मात्र गरेको छैन, आवास, सवारी, चालक, इन्धन र मोबिल खर्चसमेत उपलब्ध गराउँछ ।मन्त्रिपरिषदले ०६१ मंसिर २१ मा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीहरूलाई केन्द्रीय सुरक्षा समितिले गर्ने वर्गीकरण अनुसारको सुरक्षा व्यवस्था, उपत्यकाबाहिर जाँदा सुरक्षाकर्मीलाई दैनिक भ्रमणभत्ता, आफ्नो सवारी साधन नहुनेलाई सरकारी गाडी, चालक र मासिक दुई सय लिटर इन्धन सुविधा दिने निर्णय गरेको थियो । त्यसयता सरकार परिवर्तनैपिच्छे मन्त्रिपरिषदले भूपूको सुविधासम्बन्धी निर्णय गरेका छन् ।
सबैभन्दा धेरै सुविधा पाउनेमा सन्त नेता कृष्णप्रसाद भट्टराई र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला छन् । उनीहरूकै हाराहारीमा प्रमुख विपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सुविधा लिएका छन् । मासिक एकमुष्ठ नगदमा सबैभन्दा बढी भुक्तानी पाउने दाहाल नै हुन् । उनी आवास सुविधाका लागि मासिक ८० हजार रुपैयाँ लिन्छन् । वर्तमान मन्त्रिपरिषदले २०६६ साउन ९ मा दाहालको सुविधाबारे निर्णय गरेको थियो ।
दाहाल सवार बा६च १०२९ नम्बरको सेतो विलासी गाडी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चमेलिया परियोजनाको हो । दाहालले आफू प्रधानमन्त्री छँदा चढ्ने गरेको उक्त गाडी बालुवाटार छोड्दा पनि साथै लगेका हुन् । एक उच्च सरकारी अधिकारीले त्यसैलाई प्रधानमन्त्री कार्यालयबाट उपलब्ध गराइँदै आएको गाडीका रूपमा व्याख्या गरे । उनको सुरक्षाका लागि ना१झ ८९० नम्बरको पछुवा गाडी पनि उपलब्ध गराइएको सरकारी रेकर्डमा छ ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालालाई सरकारले बहालवालाकै झल्को लाग्ने गरी स्वकीय सचिवालयको सुविधा दिएको छ । २०६५ माघ ९ को निर्णयमा उनलाई एक/एक सहसचिव, उपसचिव, शाखा अधिकृत, नायव सुब्बा, कम्प्युटर अपरेटर र दुई/दुई चालक तथा कार्यालय सहयोगीको पारिश्रमिक दिने उल्लेख छ ।
यसका अतिरिक्त उनका लागि घरभाडा (रकम उल्लेख नभएको), बिल अनुसारको औषधोपचार खर्च, सवारी साधन र मासिक २ सय ५० लिटर तेल र तीन महिनाको पाँच लिटर मोबिल सुविधा छुट्टयाइएको छ ।
सन्त नेता भट्टराईको निजी सचिवालयका लागि सरकारले कोइरालाकोभन्दा दुई कर्मचारी घटीको सुविधा दिएको छ । मन्त्रिपरिषदको २०६१ मंसिर १० को निर्णय अनुसार उनलाई एक/एक उपसचिव, अधिकृत, टाइप सुब्बा र दुई/दुई पियन र चालकको सुविधा छ । भट्टराईले कोइरालाकोभन्दा बीस लिटर घटी (२३०) इन्धन सुविधा पाउँछन् । उनलाई एक निजी चिकित्सक, सम्पूर्ण उपचार खर्च, विदेशमा उपचार गराउनुपर्दा दुई जना सहयोगी लैजान पाउने गरी आवश्यक दैनिक तथा भ्रमण खर्च स्वास्थ्य मन्त्रालयअन्तर्गत पाउने व्यवस्था छ । सरकारी आवास सुविधा (आश्रम) पाएका भट्टराईका लागि ३ हजार ५ सय मसलन्द खर्च, एसटीडी र लोकल गरी दुई लाइन टेलिफोन, धारा र बिजुलीको बिल अनुसारको खर्च पनि सरकारले बेहोर्छ ।
पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले सवारीसाधन, चालक, इन्धन, पछुवा गाडी र सुरक्षाकर्मीको सुविधा पाएका छन् । चन्दले खेलकुद मन्त्रालयको गाडी लिएका छन् भने थापा र देउवाले चढ्ने गाडी विद्युत प्राधिकरणको हो । थापा र देउवाको पछुवा पिकअप भने गृहमन्त्रालयकै हो ।
पूर्वगृहमन्त्रीको हैसियतमा सवारी साधन, चालक, इन्धन र पछुवा गाडी तथा सुरक्षाकर्मीको सुविधा लिनेहरूमा बामदेव गौतम, केपी ओली, पूर्णबहादुर खडका र कृष्ण सिटौला छन् ।
पूर्वगृहमन्त्रीकै हैसियतमा रामचन्द्र पौडेलले पाएको यो सुविधा हाल कांग्रेस संसदीय दलका नेतामा परिणत भएको छ । उनले चढ्ने स्कोरपियो गाडी गृहमन्त्रालय अन्तर्गतको हो । पूर्वगृहमन्त्री गौतमले चढ्ने गाडी गृहकै हो भने खडका र सिटौलाले भौतिक योजना तथा निर्माण मन्त्रालयको र ओलीले नेपाल विद्युत प्राधिकरणको गाडी चढ्दै आएका छन् । उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको पछुवा छ ।
सरकारले ०४६ को परिवर्तनअघिका भूपूलाई भने सुविधा दिएको छैन । २०४६ पछिका गृहमन्त्रीहरू योगप्रसाद उपाध्याय, खुमबहादुर खडका, गोविन्दराज जोशी, बुद्धिमान तामाङ, कमल थापा, धर्मबहादुर थापा, बद्रीप्रसाद मण्डल र दानबहादुर शाहीले सरकारी सुविधा लिएका छैनन् ।












