काठमाडौ, फाल्गुन २२ - सञ्चार उद्यमी जमिम शाहमाथि लाजिम्पाटमा गोली हान्ने समूह एक सक्रिय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नुवाकोट घर भएका 'भकभके' भनिने किशोर खडका हुन उनलाई गल्कोपाखा स्थित उनकै डेराबाट पक्राउ गरेको हो ।
अनुसन्धानमा संलग्न अधिकृतका अनुसार अभियुक्त खडकाले फरार अभियुक्त श्रीकृष्णको निर्देशनमा हतियारको व्यवस्थापन गरेको खुल्न आएको छ ।
खडकाले पनि शाहको हत्या बब्लु श्रीवास्तवको निर्देशनमै गरेका बयान प्रहरीलाई दिएको छ । खडकाले गोली हान्न प्रयोग भएको हतियार घटनाकै दिन विष्णुमती खोलामा फ्याँकेको बयान प्रहरीलाई दिएका छन् । फ्याँकेको स्थानमा हतियार खोज्न प्रहरी दिनभर खटिए पनि साँझसम्म फेला पार्न सकेको छैन ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख रणबहादुर चन्दले खडकालाई पक्राउ गरेको पुष्टि गरेका छन् । यसैबीच शाह हत्या प्रकरणका अभियुक्तहरू भाग्दा उनीहरूलाई पक्राउ गर्ने कुनै प्रयास नगरेकोबारे स्पष्ट पार्न महानगरीय आयुक्तको कार्यालयले शुक्रबार कलंकीदेखि नागढुंगासम्मका सुरक्षा इन्चार्जहरूलाई स्पष्टीकरण सोधेको छ । त्यस्तो स्पष्टीकरण कलंकी, बलम्बु, थानकोट र नागढुंगामा कार्यरत नेपाल प्रहरी र ट्राफिक प्रहरी दुवैका इन्चार्जहरूलाई सोधिएको स्रोतले बताएको छ । यसअघि शाहको हत्याका दिन त्यहाँ सुरक्षा दिन नसकेको भन्दै लाजिम्पाट प्रहरी बिटका इन्चार्ज असईसहित चार जनालाई निलम्बन गरेको थियो ।
सञ्चार उद्यमी शाहको गत माघ २४ गते राजधानीको लाजिम्पाटमा गोली हानी हत्या गरिएको थियो । दरबार मार्गस्थित याक एन्ड यति होटलमा नियमित नुहाएर घर फर्किने क्रममा उनीमाथि गोली हानिएको थियो । तीन गोली लागेका उनको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो । उनका चालक मथुरामान मालाकारको बायाँ तिघ्रामा गोली लागेको थियो ।
यसअघि प्रहरीले घटनाका मतियार भनिएका सई प्रकाश क्षेत्रीलाई पक्राउ गरेको थियो । घटनाको नौ दिनपछि प्रहरीले पत्रकार सम्मेलन गर्दै क्षेत्रीलाई पक्राउ गरेको जानकारी गराएको थियो । घटनाका मुख्य योजनाकार बब्बु भनिने दीपक शाही, अर्का सहयोगी भनिएका श्रीकृष्ण पौडेल र नियमित फोन सम्पर्क भएका पूर्वडीएसपी जगदीश चन्द, लगायतका अन्य फरार छन् । हत्याको छानबिनका लागि सरकार, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।












