काठमाडौं, फाल्गुन २० - गृहमन्त्री भीम रावलले एकाध घटनालाई लिएर आफूले पदबाट राजिनामा नदिने स्पष्ट पारेका छन् । 'भीम रावल पदमा टाँसिएर बस्ने मान्छे होइन,' बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, 'यस्तो अवस्थामा राजिनामा दिन्न, बरु डटेर सामना गर्छु ।'
गृहमन्त्रीले विशेष सुरक्षा योजना असफल बनाएर मुलुकमा अस्थिरता र अराजकता मच्चाउने षड्यन्त्र भइरहेको दाबी गरे । 'अस्थिरता र अराजकता मच्चाउन चाहने तत्वको षड्यन्त्रको सूचना मलाई आएको छ,' उनले भने, ' त्यस्ता अपराधीलाई निस्तेज पार्न सरकार सक्षम छ ।' उनले केही स्वार्थी सुरक्षाकर्मी, राजनीतिकर्मी र कर्मचारी त्यस्तो षड्यन्त्रमा सामेल भएको उल्लेख गरे ।
माओवादीप्रति पनि आक्रोस
गृहमन्त्री रावलले विशेष सुरक्षा योजना कार्यान्वय नहोस् भनेर माओवादीले सात महिनासम्म बजेट पास गर्न नदिएको आरोप लगाए । उनले विशेष सुरक्षा योजना ठीक नभए अर्को कार्यक्रम ल्याउन माओवादीलाई चुनौति दिए ।
'शान्ति नचाहने र जिउधनको सुरक्षा नचाहनेहरुले यसलाई रुचाएका छैनन्,' माओवादीप्रति इंगित गर्दै रावलले भने, 'यो कार्यक्रम नरोकिकन बरु समयानुकूल पुनरावलोकन गरी दृढताका साथ सुरक्षा बललाई सक्षम र साधानसम्पन्न बनाएर बिशेष सुरक्षा योजना सफल बनाएरै छाड्छौं ।'
पत्रकार पूर्वाग्रही
गृहमन्त्री रावलले पत्रकारहरुले सरकारका राम्रा कामको चर्चा नगरी पूर्वाग्रही भएको आरोप लगाए । 'म गृहमन्त्री बनेपछि भएका राम्रा कामको कहाँ चर्चा भएको छ र,' उनले भने ।
९० प्रतिशत अपराधी नियन्त्रणमा आइसकेको दाबी गर्दै टुटफुट घटनालाई अतिरञ्जित नगर्न उनले सञ्चारकर्मीहरुलाई आग्रह गरे । धम्की आएको कुरालाई समेत प्रचारवाजी गरेर सुरक्षाकर्मीको मनोवन नगिराउन उनले सञ्चारकर्मीहरुसँग आग्रह गरे ।












