Posted On : Mar 4 2010 Thursday 07:49:56 AM | Views : 264
ताम्सालीङ संयुक्त संघर्ष समिति, नेपालले राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्तुत गरेको राज्यको खाकाप्रति असहमति जनाउँदै मंगलबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ।
सिंहदरबारमा रहेको सभाध्यक्षको कार्यालयमा ताम्सालीङ संयुक्त समितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउँदै लाखौं तामाङ समुदायलाई ताम्सालीङ क्षेत्र बाहिर पार्ने सङ्घीय प्रदेशको प्रस्ताव सच्याउन आग्रह गरेका छन्। ज्ञापनपत्रमा राज्य पुनःसंरचना समितिले मनोगत रुपमा सीमाङ्कन गर्दै प्रदेशको खाका तयार गरेको उल्लेख गरिएको छ। यसैगरी ज्ञापनपत्रमा सुनकोशी, शेर्पा, नेवा तथा नारायणी प्रदेश बनाउने नाममा ताम्सालीङको ऐतिहासिक भूमि, पुर्ख्यौली थलो, जातीय बसोबासको निरन्तरता, सघनता तथा सांस्कृतिक अख48डतालाई खण्डित गर्न खोजेको उल्लेख छ।
तामाङ समुदायले काठमाडौं वरिपरिका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुरलगायतका १० जिल्ला समेटी ताम्सालीङ प्रदेश बनाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्दै आएको छ।
ज्ञापनपत्र लिदै सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको महत्वपूर्ण प्रक्रिया अझै बाँकी रहेकोले सकेसम्म सबै समुदायको भावना समेटेर प्रदेशहरु निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो। साथै नेम्वाङले संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागी हुन पनि आग्रह गर्नुभयो। ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको टोलीमा सहभागी परशुराम तामाङले सङ्घीय प्रदेश निर्माणको विश्वव्यापी मान्यता र सिद्धान्तलाई वास्ता नगरेको बताउनु भएको छ।
राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले माघ ६ गते तय गरेको प्रस्तावमा सुनकोशी र नारायणी प्रदेशको नाम सार्वजनिक गरेपछि तामाङ समुदायले आपत्ति जनाउँदै आएका छन्। प्रस्तावित सुनकोशी प्रदेशमा १ लाख ३४ हजार र नारायणी प्रदेशमा १ लाख २२ हजार तामाङ जातिको बसोबास रहेको संर्घष समितीको दावी छ।












