मार्च १, सिक्किम – सिक्किमबाट निर्माण हुने नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ मा इण्डियन आइडल-३ प्रशान्त तामाङ मुख्य अभिनेताको रुपमा देखिने भएका छन् । सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा हुन लागेको उक्त चलचित्रको गत फेब्रुअरी २६ का दिन सिक्किममा शुभमुहूर्त सम्पन्न भएको छ । स्व. मायादेवी राईको कथामा निर्माण हुने उक्त चलचित्रको पटकथा तथा निर्देशन विनोद सेरेङको रहनेछ भने संगीत ईजक क्षेत्री, द्वन्द रत्न र नृत्य निर्देशन गोविन राईको रहनेछ । त्यस्तै चलचित्र छायांकन युवराज राईले गर्नेछन् ।
चलचित्रमा प्रशान्त तामाङसहित सिक्किम, दार्जिलिङका साथै नेपालका कलाकारहरूले समेत अभिनय गर्ने भएका छन् । अन्य कलाकारहरुमा स्वागतिका थामी, महेन्द्र गुरूङ, चुन्निलाल घिमिरे, प्रेम सुब्बा, पन्नु गजमेर, विजयता बराइली लगायत रहेका छन् ।
चलचित्रको करिब ८० प्रतिशत सिक्किम र बाँकी दार्जिलिङ र नेपालमा छायाँकन गरिने निर्माता किशोर राई दुङमालीले बताए । चलचित्रबारे विस्तृत जानकारी www.angaloyomayako.com बाट लिन सकिनेछ ।












