फेव्रुअरी १४ का दिन तामाङ सोसाइटी अफ ग्रेटर वासिंङटन डीसीको आयोजनामा डीसी क्षेत्रमा रहेका तामाङहरुले हर्षोल्लासका साथ ल्होछार पर्व मनाए। डीसी क्षेत्रका वासिन्दाहरु वृहत्तर नेपाली समुदाय अन्य मित्रहरुले पनि यसमा सहभागिता जनाएका थिए| यो नंया वर्षलाइ बाघ वर्ष (ताक ल्हो) का रुपमा स्वागत गरियो। मेरिल्याण्डको पोटोम्याक स्थित एक कम्युनिटी सेन्टरमा मनाइएको उक्त कार्यक्रमको उदघाटन अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्मा -पीएचडी)ले तामांग परम्परा अनुसार नांगसाल बालेर गर्नुभएको थियो| समारोहमा लामा गुरुले मन्त्र पाठ गरी शुभकामना जनाउदै प्रार्थना गरेका थिए|
राजदूत शर्माले तामाङहरुको नयाँ वर्षको उपलक्ष्यमा नेपाल सरकारकै तर्फबाट शुभकामना दिंदै अब आउने नयाँ वर्षले नेपालमा शान्ति, प्रजातन्त्र र विकास होस् भन्ने कामनाका लागि मद्दत गरोस् भन्नुभयो । यसरि नेपाली संस्कृतिका राम्रा पक्षलाई अमेरिकामा रहेका केटाकेटीहरुलाई अगाडि लिएर जानका लागि आउने पुस्तालाई सिकाउन समेत सबैलाई आग्रह गर्नुभयो । हालैमा भारी हिमपात भएर सडकका दुवै छेउमा रहेको हिउँको थुप्रो र साँझमा चिसो मौसमको वावजुद पनि आगंतुकहरुले हल खचाखच भरिएको थियो |
कार्यक्रममा आगन्तुकहरुलाई सोसाइटीका तर्फबाट डीवी तामाङले स्वागत गर्नुभएको थियो भने औपचारिक कार्यक्रमका सभापति तथा सोसाइटीका अध्यक्ष श्याम लामाले आगन्तुकहरु सबैलाई तामाङहरुको नयाँ वर्षको शुभकामना व्यक्त गर्दै रमाइलो गर्न आग्रह गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रम गरिएको थियो । साजन लामा र प्रमीला लामाको डम्फु नाच बाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा मंगोलियन हार्टका गायक राजु लामाले ”हल्ला चलेछ राजै चर्चा चलेछ, विदेशैमा बसेछ भनेर उतैतिर घरजम गरेछ भनेर...” भन्ने गीत गाएका थिए ।
त्यसैगरी देवकिरण शाहीले एक गुरुङ गीत गाएका थिए भने रुविया लामाले तामाङ सेलाको नृत्य गरेकी थिइन् । उता राजकुमार गुरुङ प्रमिला लामा, सनत कुमार, मन्जु पुन लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। स्थानीय जनजातिहरुको विशेष उपस्थितिरहेको सो कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरु, डीसी क्षेत्रका नेपाली संचारकर्मीहरुका साथै नेपाली दूताबासका कर्मचारीहरुको समेत उपस्थितिरहेको थियो।












