Posted On : Feb 8 2010 Monday 06:32:13 AM | Views : 369
काठमाडौ, माघ २४ - संसदको सार्वजनिक लेखा समितिले मन्त्रीहरूको भ्रमण खर्चमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरेको छ । समितिले मन्त्रीहरूको स्वदेश र विदेश भ्रमणको खर्च विवरण माग गरी छानबिन सुरु गरेको हो ।
मन्त्रीहरूको विदेश भ्रमण खर्च सम्बन्धित मन्त्रालयले बेहोर्ने गरेको छ भने देशभित्र हुने भ्रमणका लागि आवश्यक रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमार्फत भुक्तानी हुने गरेको छ । समितिले खर्च मितव्ययिताको सरकारी नीतिविपरीत फजुल खर्च भए/नभएको छानबिन गर्नेछ । प्रधानमन्त्री बाहेक नै मन्त्रीहरूले जिल्ला भ्रमणमा मात्रै यस आर्थिक वर्षको सात महिनामा ३५ लाखभन्दा बढी खर्च गरेका छन् । समितिले विदेश भ्रमणको खर्च माग गरे पनि उपलब्ध गराइएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जिल्ला अनुगमन तथा निरीक्षण भ्रमणमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले समेत ३५ लाख ३५ हजार २ सय ६१ रुपैयाँ भुक्तानी लिएका छन् । कार्यालयले समितिलाई उपलब्ध गराएको विवरणअनुसार भ्रमण खर्च, दैनिक भत्ता, होटल वासका लागि उनीहरूले यो रकम खर्च गरेका हुन् । अधिकांश मन्त्रीले गृहजिल्ला जाँदा पनि सरकारी विवरणमा भ्रमणको उद्देश्य अनुगमन/निरीक्षण उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा मन्त्रीहरूले कार्यालयबाट यसै शीर्षकमा लिएको भ्रमण खर्च ३० लाख ८ हजार ६ सय २ थियो ।
भ्रमण खर्च भुक्तानी लिनेमा मन्त्रीभन्दा राज्यमन्त्री अगाडि छन् । नौ राज्यमन्त्रीले एक लाखभन्दा बढी खर्च मुक्तानी लिएका छन् । यसमध्येमा पनि भूमिसुधार राज्यमन्त्री मानबहादुर शाही साढे दुई लाख, ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई झन्डै दुई लाख, शान्ति राज्यमन्त्री डिल्लीबहादुर महत, स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर सार्की र वाणिज्य राज्यमन्त्री सरोजकुमार यादवले पौने दुई लाखको हाराहारीमा खर्च गरेका छन् ।
बढी खर्च गर्ने मन्त्रीहरूमा स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा, खेलकुद मन्त्री गणेश नेपाली र बिनाविभागीयमन्त्री लक्ष्मणलाल कर्ण छन् । उनीहरूमध्ये कर्णले यसबीचमा तीनपटक मात्र भ्रमण गरे पनि १ लाख ५२ हजार ५ सय ३४ रुपैयाँ लिएका छन् । स्थानीय विकासमन्त्री शेर्माले सात महिनामा सातपटक भ्रमण गर्दा १ लाख ३३ हजार ६ सय ९२ र खेलकुदमन्त्री नेपालीले नौ पटक गरी १ लाख १६ हजार ३ रुपैयाँ बुझेका
छन् । खेलकुद सहायकमन्त्री चन्दा चौधरी झन्डै एक लाख र भौतिक योजना सहायक मन्त्री कलावती पासवानले पौने एक लाखको हाराहारीमा खर्च गरेका छन् ।
बढी खर्च गर्ने मन्त्रीहरुको विवरण
बिनाविभागीयमन्त्री लक्ष्मणलाल कर्ण रु. १५२५३४।-
स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा रु. १३३६९२।-
खेलकुदमन्त्री गणेश नेपाली रु. ११६००३।-
भूमिसुधार राज्यमन्त्री मानबहादुर शाही रु. २४९६१५।-
ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई रु. १९९४२९।-
शान्ति राज्यमन्त्री डिल्लीबहादुर महत रु. १७७२६४।-
स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर सार्की रु. १७४७४७।-
बाणिज्य राज्यमन्त्री सरोजकुमार यादव रु. ११७३४५।-
उद्योग राज्यमन्त्री दानबहादुर चौधरी रु. १२६२४७।-
गृहराज्यमन्त्री रिजवान अन्सारी रु. १३०२४५।-
सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम रु. १५३६४७।-
शिक्षा राज्यमन्त्री गोविन्द चौधरी रु. ११९६६५र-












