Posted On : Feb 4 2010 Thursday 06:11:55 AM | Views : 569
काठमाडौ, २०६६ माघ १८ - बेलायतले नेपाली विद्यार्थीको भिसा आवेदन सोमबारदेखि तत्काललाई रोकेको छ । नेपालस्थित बेलायती दूतावासका अनुसार बंगलादेश र दक्षिणपूर्वी भारतका विद्यार्थीको भिसा आवेदन पनि रोकिएको छ । चाप बढेकाले अर्को व्यवस्था नहुन्जेल भिसा बन्द गरिएको दूतावासले जनाएको छ ।
१० महिनाअघि बेलायत सरकारले 'टायर फोर' प्रणालीअन्तर्गत विद्यार्थी भिसा सहज बनाएपछि यो मुलुक नेपाली विद्यार्थीको आकर्षण केन्द्र बनेको थियो । दूतावास अधिकारीका अनुसार पछिल्लो दस महिनामा करिब ३० हजार विद्यार्थी बेलायत गएको अनुमान छ । शिक्षा मन्त्रालय अधिकारीका अनुसार मंसिरमा करिब ४२ सय र पुसमा १८ सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिएकामा अधिकांश बेलायत जाने तयारीमा थिए ।












