ज्योरेस लामा/जनवरी ३१, २०१० – जनवरी ३१, आईतबारका दिन अमेरिकाको पेनसलभानियामा रहनुभएका तामाङहरुले संगठित रुपमा पहिलोपटक ऐतिहासिक रुपमा ‘२८४६ औं सोनाम ल्होछार’ वृहत साँस्कृतिक कार्यक्रम सहित मनाएका छन् । वरिष्ठ समाजसेवी विनोद मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रन्जित लामाले गर्नुभएको थियो । धार्मिक गुरु मोचा लामाबाट धार्मिक पूजापाठ तथा ज्येष्ठ नागरिक श्रीमती नोर्गीन डोल्मा लामाले नाङसाल बाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रममा आसन ग्रहण तथा शुभकामाना मन्तव्य राखिएको थियो । सो कार्यक्रममको अतिथिहरुमा श्याम पाख्रिन, कमल शर्मा, विमल मोक्तान, श्याम रुम्बा, ज्योति लामा लगायत रहनुभएको थियो । शुभ कामना राख्ने क्रममा आयोजक कमिटिका तर्फबाट श्री टेकमान तामाङले बोल्नु भएको थियो । पहिलो पटक आयोजना गरिएको कार्यक्रममा नै सोँचे भन्दा बढि सफलताले फेरि पनि ल्होछार मनाउने हौसला मिलेको समेत व्यक्त गर्नु भएको थियो ।
सोही क्रममा कमल शर्माले ल्होछार देशको राष्ट्रिय गहना भएकोले जगेर्ना गर्न आवश्यक रहेको भन्दै भावी दिनमा निरन्तरताको लागि समेत कामना गर्नुभएको थियो । विमल मोक्तानले विगत १९ वर्ष अगाडि सम्झदै आँखाबाट आँशु समेत खसाल्नु भयो । आज आफुले हेर्दा हेर्दे सोही स्थानमा ल्होछार मनाउन सफल भएकोमा यसलाई उहाँले नसोँचेको परिणामको संज्ञा दिनुभएको थियो ।
प्रमुख अतिथि श्री विनोद मोक्तानले यसरी एक आपसमा मिलेर चाडपर्व मान्नले धर्म, कला, संस्कृति र साहित्यलाई संरक्षण गर्न मद्दत पुग्ने र पुर्याउन हामी सबैको कर्तव्य हो भन्नुहुँदै यो जिम्मेवारीबाट कोही पनि पन्छन नमिल्ने कुरामा जोड दिनुभएको थियो ।
दोस्रो चरणको अनौपचारिक कार्यक्रममा स्थानीय कलाकाहरु भोला बम्जन, नोर्साङ लामा, सजन लामा, सोनी, शिला, सुशिला स्याङदन, सरिता बम्जन, लक्ष्मी पाख्रिन, बन्दना मोक्तान, सुशिल पाख्रिन, सुमन पाख्रिनको बेजोड प्रस्तुतीले कार्यक्रमको निर्धारित समय भन्दा पनि २ घण्टा लम्ब्याउन आयोजकलाई भ्याई नभ्याई भएको थियो भने कार्यक्रम बर्शा मोक्तान र कबिलाल घिसिङले सञ्चालन गर्नुभएको थियो ।












